​प्रत्यक्ष बिक्री सम्बन्धी बारम्बार सोधिने प्रश्नहरु (Frequently Asked Questions/FAQ)

  • १. वस्तुको प्रत्यक्ष बिक्री भनेको के हो?
    • कुनै उत्पादक वा वितरकबाट उपलब्ध वस्तु इजाजतपत्रवाला कम्पनीका आधिकारिक बिक्रेता/वितरकका माध्यामबाट उपभोक्तालाई प्रत्यक्ष रुपमा बिक्री/वितरण गर्ने कार्य हो । ।
  • २. वस्तुको प्रत्यक्ष बिक्री अन्तर्गत कस्ता कस्ता वस्तु बिक्री गर्न पाईन्छ ?
    • निम्नानुसारका वस्तु बाहेकका वस्तु बिक्री गर्न पाइन्छ ।
      • प्रचलित कानून बमोजिम चिकित्सकको सिफारिसमा मात्र बिक्री गरिने औषधि,
      • मदिरा तथा सुर्तिजन्य वस्तु लगायतका उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालका वस्तु,
      • तन्त्र मन्त्र लगायतका काल्पनिक वा यस्तै अप्रमाणिक अलौकिक भनिएका वस्तु,
      • ट्रेडमार्क दर्ता नगरिएका वस्तु,
      • प्रचलित कानूनले बन्देज लगाएका वा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी निकासी पैठारी तथा प्रत्यक्ष विक्री वा वितरण गर्न बन्देज लगाएका अन्य वस्तुहरु।
  • ३. नेपालमा उत्पादन भएका स्वदेशी वस्तु मात्र बिक्री गर्नुपर्छ की विदेशमा उत्पादन भएका वस्तु पनि बिक्री गर्न पाइन्छ?
    • कुल बिक्री मूल्यको कम्तिमा ५०% स्वदेशी वस्तुहरु बिक्री/वितरण गर्नु पर्नेछ। तर नेपालमा उत्पादन नहुने वस्तु बिक्री/वितरण गर्न चाहेमा उक्त वस्तु नेपालमा उत्पादन नहुने प्रमाण पेश गर्नुपर्ने हुन्छ ।
  • ४. उपभोक्ताले वस्तु खरिद गर्नुपूर्व अनिवार्य कुनै किसिमको सदस्यता लिनुपर्छ ?
    • उपभोक्तालाई कुनैपनि वस्तु खरिद गर्दा कुनै किसिमको सदस्य बन्नु पर्ने वा बनाउनु पर्ने वा वस्तुको मुल्य बाहेक कुनै किसिमको थप शुल्क तिर्नुपर्ने शर्त राख्न पाईंदैन ।
  • ५. एक वस्तु खरिद गर्दा अन्य वस्तुसमेत एकमुष्ट प्याकेजमा खरिद गर्नुपर्छ ?
    • उपभोक्ता आफुलाई चाहिए जति वस्तु मात्र खरिद गर्न पूर्ण स्वतन्त्र हुन्छन् ।कुनै एक वस्तु खरिद गर्दा अर्को वस्तु पनि खरिद गर्नुपर्ने गरि कुनै शर्त राख्न पाईंदैन ।
  • ६. वस्तु खरिद गर्ने व्यक्ति (क्रेता वा उपभोक्ता) ले आफू मातहत अर्को प्रत्यक्ष क्रेता वा उपभोक्ता बनाउन पर्छ ?
    • वस्तु खरिद गरी उपभोग गर्न चाहने व्यक्तिले बिना शर्त आफुलाई आवश्यक परे जतिको वस्तु खरिद गर्न स्वतन्त्र हुन्छ। वस्तु खरिद गर्न आफु मातहत अर्को क्रेता वा उपभोक्ता बनाउनु पर्दैन, यस्तो कार्य कानून विपरित हुन्छ ।
  • ७. वस्तु बिक्री गर्ने बिक्रेता/वितरकले आफू मातहत अर्को बिक्रेता/वितरक बनाउन पाउँछ ?
    • वस्तु मार्केटिङ्ग वा प्रवर्दन वा बिक्री वितरण गर्न इजाजतवाला कम्पनीसँग सम्झौता गरेका आधिकारिक बिक्रेता वा वितरकले सोझै उपभोक्ता वा क्रेतालाई नै वस्तुको बिक्री वितरण गर्ने हो ।उनिहरु मातहत पुनः अर्को कुनै बिक्रेता/वितरक बनाउन पाईंदैन ।
  • ८. आफूले भुक्तानी गरेको रकम बराबरको वस्तु प्राप्त गर्न नसक्ने स्थितिको सञ्जालयुक्त (Networking) कार्य गर्न पाइन्छ ?
    • संजालयुक्त (Networking) व्यापारिक कृयाकलाप गर्न पाईंदैन। यस्तो कार्य गैरकानूनी मानिन्छ । उपभोक्ता वा क्रेताले आफुले भुक्तान गरेको रकम बराबरको आफुले चाहेको वस्तु बिना शर्त लिन पाउनुपर्छ ।वस्तु उपलब्ध नभएसम्म उपभोक्ता वा क्रेता सो को रकम भुक्तान दिन वाध्य हुनेछैन ।
  • ९. वस्तु खरिद गर्न इच्छुक उपभोक्ता इजाजतवाला कम्पनीको सदस्य बन्नु पर्छ ?
    • वस्तु खरिद गर्न सदस्य बन्ने लगायतका कुनै किसिमका शर्त लागू गर्न पाईंदैन । वस्तुको बिक्री बढाउने प्रयोजनका लागि निश्चित परिमाण वा कुनै उपहार पाइने गरी व्यावसायिक दृष्टिले अनुचित र असम्भव देखिने आकर्षक उपहार दिई वा कमिसनको प्रलोभन देखाई सदस्य बनाउने वा महँगो वस्तु खरिद गर्न लगाउन पाईंदैन ।
  • १०. बस्तुको प्रत्यक्ष बिक्री गर्न इजाजत प्राप्त कम्पनीले के के गर्नुहुदैन ?
    • आफनो बस्तु बिक्री गर्दा एउटा बस्तु किन्दा प्राप्त हुने लाभ हाँसील गर्न अर्को बस्तु किन्नै पर्नै, निश्चित समय भित्र उपभोग गरिसक्नु पर्ने, निश्चित परिमाणमा किन्नै पर्ने, सशुल्क सदस्यता नलिई बस्तु किन्न नपाउने, आफुले किनेको बस्तु उपभोग गर्न नसकेमा अरुलाई दिन नपाउने, एक पटक उपभोग गर्नासाथ अन्यकुनै दायित्व श्रृजना हुने, एक पटक एक बिक्रेताबाट किनेको बस्तु अर्को पटक अर्को बिक्रेताबाट किन्दा सहुलियत वा छुट प्राप्त नगर्ने जस्ता कुनै पनि शर्तहरु राखिएको हुनुहुदैन ।
  • ११. वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ र नियमावली, २०७६ विपरितका कार्य गरेमा कस्तो सजाय हुन्छ ?
    • ऐन नियम विपरितका कामकार्यवाही गरेमा कसुर हेरी विगो असुल एवं दश लाख रुपैया सम्म जरिवाना, ५ वर्ष सम्म कैद वा दुवै सजाय तथा इजाजत खारेजी सम्म हुनसक्छ ।
  • १२. इजाजत प्राप्त कम्पनीले कति जना बिक्रेता/वितरक नियुक्त गर्न सक्दछन् ?
    • वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ र नियमावली, २०७६ मा बिक्रेताको संख्याको सम्बन्धमा कुनै बाध्यकारी ब्यवस्था नभएकोले इजाजतवाले आफ्नो ब्यावसाय प्रर्वधनको लागि आवश्यक संख्यामा बिक्रेता/वितरक नियुक्त गर्न वा हेरफेर गर्न सक्छन् ।नयाँ बिक्रेता/वितरक नियुक्त गरेमा वा पुरानो हेरफेर गरेमा वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागलाई जानकारी गराउनु पर्दछ ।
  • १३.वस्तुको प्रत्यक्ष बिक्री गर्ने व्यवसाय गर्न के गर्नु पर्छ ?
    • वस्तुको प्रत्यक्ष बिक्री गर्ने उद्धेश्य उल्लेख भएका कम्पनीले त्यस्तो व्यवसाय गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ र नियमावली, २०७६ ले तोके बमोजिमको ढांचा र कागजात संलग्न गरी निवेदन दिएमा उपयुक्तताका आधारमा विभागले इजाजत दिएपछि त्यस्तो व्यापार/व्यवसाय गर्न पाइन्छ ।
  • १४. कम्पनीले आफ्नो वस्तुको बारेमा विज्ञापन गर्न वा प्रचार प्रसार गर्न पाउँछ की पाउँदैन ?
    • प्रचलित कानूनको अधिनमा रही वस्तुको वास्तविक विवरणका बारेमा बिक्रेता वा वितरक मार्फत वा अन्य संचार माध्यमबाट विज्ञापन गर्न वा प्रचार प्रसार गर्न पाइन्छ ।तर असम्भव देखिने आकर्षक उपहार वा अस्वाभाविक कमिशन वा लाभको प्रलोभन देखाउने, वस्तु खरिद गर्दा उपभोक्ता वा क्रेताले शर्त पुरा गर्नुपर्ने, प्रभावमा पार्ने, चिकित्सा विज्ञानबाट निको नहुने भनी प्रमाणित भएको रोग निको हुने अलौकिक वस्तु हो भनी विश्वासमा पार्ने खालका श्रव्य, दृश्य, लिखित वा अन्य कुनै सामाग्री प्रयोग गरेर विज्ञापन गर्न वा प्रचार प्रसार गर्न पाईंदैन ।
UP
सुझाव​